पूर्व साथीलाई पत्र
मिति : २०७५।१२।१२
प्यारो
पूर्व साथी
नमस्कार ।
सर्वप्रथम त तिमीलाई बधाई दिन चाहन्छु : तिम्रो सफलताको लागि ।
तिमी आज देश हाँक्ने मानव भइसकेछौ । मलाई पहिले नै अन्दाज थियो : तिमी एक दिन नेपालको
कुनै ठुलै मान्छे बन्छौ भन्ने । किनभने बाल्यकालमा तिम्रा गतिविधिहरु नेपालका
नेताका भन्दा कुनै कम थिएनन् । मलाई राम्रोसँग स्मरण छ : विद्यालयमा तिमीले
भनेको नमान्दा तिमीभन्दा दुई गुणा कम तौल भएको साथीलाई तिमीले मुक्कै मुक्काले
हिकाएको अनि घर वा शिक्षकलाई भनिस् भने तँलाई फेरि कुट्छु भनेर धम्क्याएको । बिचरा
ऊ तिम्रो ताकतको के सामना गर्न सक्थ्यो र ऊ त
निरिह पशुझैं तिमै्र इसारामा चलिरहेको थियो । वनभोजका लागि जम्मा गरेको पैसा सकेर
डाँडाघरे माइला दाइको रातो भाले किनेको बाहना हामी सबैले सहजै स्वीकार गरे पनि
माइला दाइले लामाचौर भरि लखेटी लखेटी कुट्दा तिमी ३ दिनसम्म घर नआएको कुरा पनि
ताजै छ । परीक्षामा सार्न नदिएको निहुँ पारी बिचरा त्यो हर्केलाई पानी पिउँदा
धारामा लात्तीले हिर्काउदाँ मतिर फर्केर डाको छोडी रुँदै गरको घटना त म कहाँ
बिर्सन सकुलाँ र ? दैनिक जसो गृहकार्य नगर्दा तिमीलाई सरले दिएको उपदेश अनि
सुझावलाई तिमीले गालीमा परिवर्तन गरी बाटोमा लुकेर बसी ढुङ्गाले हिर्काएको कुरा त
बिर्सन चाहेर पनि बिर्सन सकिएन मित्र । तिमी आज देश चलाउने मान्छे हुँदा पनि मैले
यी कुरा भुल्न सकिरहेको छैन ।
जनताको
नाममा यो देशमा आउनु पर्ने शासन व्यवस्था धेरै आइसकेछन् । प्रजातन्त्र, बहुदल, गणतन्त्र, संघीयता । तर दशरथ, धर्मभक्त, शक्रराज र गंगालालले
भनेको प्रजातन्त्र, दश हजार मान्छेले भनेको गणतन्त्र र संघीयताको मर्म त यस्तो
थिएन होला नी यो
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा मेरो भाइ दिउँसै बाटोमा हिँड्न डराउँछ, बहिनी घरबाट निस्कनै डराउँछे
। आमाले हरेक दिन घरबाट निस्कँदा हिँड्दा विचार पुर्याउनु भनेर सम्झाउनु हुन्छ ।
के तिम्रो पालमा नै यस्ता समस्याको समाधान होला त ?
सायद यो कल्पना पनि मैले कसरी
गर्नु र खै ? तिमी जुन सत्तामा छौ त्यो सत्ता पूर्खाहरुको रगत र पसिनाले
सिर्जित सत्ता हो । जहाँ हरेक नेपालीको स्वतन्त्रताको लागि पूर्खाहरुको बलिदानी छ, जुन कुरा तिमी बुझ्दै
बुझ्दैनौ । यो देश तिम्रा बाहुबलीबाट न सिर्जित छ न सजिएको छ । तिमीबाट केवल
सञ्चालित छ ।
प्यारो
पूर्व साथी । आज म तिम्रो साथी बन्न सकिन । किनकी तिमी त जनताको मतबाट निर्वाचित भई सत्तामा
पुगेको मान्छे । तिम्रो हैसियत र इज्जतदार हृदयमा म मामुली मान्छे अट्न सक्ने कुरा
नै भएन । तिमीले दिएको आदेशले धेरै मानिसहरुमा मलाई जस्तै आभास हुने भएकाले त्यो
कार्य गर्न सकिन । तिम्रो हप्की र धम्कीलाई सहन पूर्व साथीको नाताले सहनशीलताको
मार्ग पछ्याएको छु । साथी माफ गर । म तिम्रो असल साथी बन्न सकिन । तर मलाई कुनै
पछुतो छैन । तिम्रो सफलतामा त्यति विघ्न खुसी पनि हुन सकिन । वनभोजको पैसा
सकेजस्तो, हर्केलाई कुटे जस्तो यो तिम्रो शासनबाट म कसरी खुसी हुन
सकुँला र ? मैले भनेका त के मान्थ्यौ र तिमी ? बाल्यकालमा सँगै खाजा
खाँएर सम्झाउँदा त मान्दैन्थ्यौ तिमी । अहिले त सत्ताधारी र ठेकेदारीको अवस्थामा
माथि उठेका छौ । म कल्पना गर्छु : तिम्रा सम्भावनाहरुको । तर मेरो कल्पनाले के नै
गर्न सक्छ र ? बिन्ती छ मित्र : यो देशमा तिमी जस्तै मान्छेहरु मात्र छैनन्
। म जस्ता साधारण मानिसहरु पनि छन् । जो हप्की र दप्की खान डराउँछन्, कुकर्म गर्न डराउँछन् ।
तिनका लागि कम्तिमा यो देश मेरो पनि हो भनी बाँच्ने वातावरण बनाई देऊ । बिन्ती छ
मित्र, यस्तो देश बनाइ देऊ जहाँ म जस्ता मान्छेले पनि देश छ भन्ने आभास गर्न सकून्
। बिन्ती छ मित्र । देश जस्तो मेरो देश बनाइ देऊ ।
उही तिम्रो पूर्व साथी
प्रसाद अपरिचित
पठाउने
पूर्व साथी
प्रसाद अपरिचित
बासिन्दा बस्ती
नेपाल ।
पाउने
सत्ताधारी मित्र
लिडर प्रसाद
वडा, गाउँ, नगर, प्रदेश, संघीय सिंहदरबार
नेपाल
।
0 Comments