मेरो बारेमा

नेतालाई मास्टरको पत्र

 


(विद्यालयमा राजनैतिक पार्टीका कार्यक्रम, बन्द गरौँ ।)

नेतालाई मास्टरको पत्र

मिति : २०७७।०९।२७ गते

प्रिय नेताज्यू

नमस्कार ।

 

खास पत्राचार गर्नुको कारण त केही पनि थिएन तरपनि तपाईँको दुर्ज्ञेय चरित्रसम्बन्धी केही बोध भएकाले यो पत्र लेख्दै छु । नेताज्यू हजुरलाई प्रिय शब्दले सम्बोधन गर्न मनले नचाहे पनि मेरो अन्तरहृदयमा अग्रजप्रतिको सम्मान जीवितै छ तसर्थ सम्मानसूचक शब्दले सम्बोधन गर्नु आफ्नो कर्तव्य सम्झेको छु ।

म तपाईँका कुकृत्यहरूलाई  सुकर्ममा परिणत गर्न सक्ने हैसियत राख्दिनँ । तपाईँको पछि लागेर आफ्नो संस्कार बदल्न पनि चाहन्नँ । व्यवस्था बदल्नका लागि म जस्ता मास्टरहरूले तपाईँहरूको साथ दिएतापनि तपाईँहरूको चरित्र बदल्न सकेनौँ । हाम्रै भर्‍याङ चढेर हामीमाथि लात बर्साउने तपाईँको चरित्रका प्रशंसक बन्न सकिदैँन । तपाईँसँग एउटा अनुरोध गर्न चाहन्छु, हुन त चुनावमा शिक्षकविना राजनीति चल्दैन भन्ने आश्वासन बाँड्ने अनि जितेर  गइसकेपछि शिक्षकले राजनीति गरेर विद्यालय बिगारे भन्ने द्वैत चरित्रका मालिकहरूले हाम्रा कुरा के सुन्नु हुन्थ्यो र ?

संसद विघटन गर्न सक्ने, पद फुत्किसकेपछि पक्ष र विपक्षमा सडकमा पुग्न सक्ने, घण्टौँ भाषण गर्न सक्ने तपाईँहरू राष्ट्र निर्माणको आधार शिक्षाका बारेमा कहाँ, कसरी, कति समय खर्चनु भयो भन्ने आधार नयाँ शिक्षा ऐनको पर्खाइमा बसेका मास्टरले राम्ररी बुझेका छौँ । कक्षा १ र ११ मा के पढाउने भनेर विगत ४ महिनादेखि न्यायालयको फैसला कुर्नुपर्दा प्रस्ट भयो कि शिक्षा कत्तिको प्राथमिकतामा रहेछ ?

फेरि चुनाव आउने हल्ला छ । चुनाव जित्ने आधार शिक्षकलाई बनाएर लाञ्छनाको भारी बोकाउने अनि स-साना बालबालिकाको भविष्यमाथि जुवा खेल्ने काम कदापि नगर्नुहोला । हो, विद्यालयमा राजनीति चाहिँदैन; गर्नु पनि हुँदैन; त्यसैले पद र कुर्सीमा बस्नका लागि भाषण गर्न विद्यालय जस्तो पवित्र मन्दिरमा आई अपवित्र पार्ने काम नगर्नुहोला । मेरो विनम्र अनुरोध : 'कृपया राजनैतिक भाषण गर्नका लागि विद्यालयको प्रयोग नगरिदिनु होला' ।

धन्यवाद ।

उही अपरचित मास्टर

भूपेन्द्र बी.सी.

Post a Comment

0 Comments