गृहभ्रमणको अनुभव
वि.सं. २०७२ सालतिरको कुरा हो । विद्यालयमा बिदाको घन्टी बज्यो ४ बजे । अब सबैलाई हतारो थियो । कसैलाई घर पुग्न, कसैलाई ट्युसन पढाउन, कसैलाई ट्युसन पढ्न र मलाई पनि हतारो घर पुग्न नै थियो तर आफ्नो होइन विद्यार्थीको । गृहभ्रमणका फाइलहरु राखेँ । झोला बोकेँ । बाइक स्टार्ट गरेँ । बाटैभरि विद्यार्थी नै विद्यार्थी थिए । विद्यालयमा ६ देखि १० सम्म करिब १४०० विद्यार्थी थिए । एकै पटक निस्कदाँ भिँड नदेखिने कुरै भएन । त्यही भिँडमै एकाएक विद्यार्थीको भागाभाग चल्यो । के भएछ भनि दौडेर गएँ । नजिकै पुग्दा थाहा भयो, एक जना बाह्य केटाले नशा सेवन गरी आएर बाटोमा जथाभावी पिटेको रहेछ । म ८ १० विद्यार्थीलाई सोधेँ कसले त्यसलाई चिन्छौ भन्दा कोही भनी जवाफ दिन तयार भएनन् । सबै विद्यार्थीलाई आफ्नो घर जान अनुरोध गरे पछि आफ्नो काममा लागेँ ।
म जुन विद्यार्थीको घर जानु पर्ने हो उनको अभिभावकलाई फोन गरेँ । आज ५ जना विद्यार्थीको घर पुग्ने योजना बनाएको थिएँ । विद्यालयले हरेक वर्ष विद्यार्थीको गहृभ्रमण गर्ने कार्यक्रम राखेको थियो । जसअनुसार मलाई कक्षा १० का २३ जना विद्यार्थीको गृहभ्रमण गर्ने जिम्मा परेको थियो । फोन गरेँ । म आउँदै गरेका जानकारी दिएँ । विद्यालयबाट करिब डेढ किलोमिटर उत्तर पश्चिम उनको घर थियो । गृहभ्रमणमा विद्यार्थी र उनका अभिभावकलाई सँगै राखेर उनको शैक्षिक अवस्था र समस्या समाधानका बारेमा कुराकानी गरी रेकर्ड राख्नु पर्ने थियो । म जुन विद्यार्थीका घरमा जाँदै थिएँ तिनलाई बाटोमा भेटेँ । तिनलाई बाइकमा बसालेँ र उनको घरमा पुगँे । उनलाई देख्दा मलाई एउटा अनुभूति भयो । पक्कै पनि यिनी सम्पन्न परिवार कै विद्यार्थी हुनुपर्छ । बोल्ने शैली, चिटिक्क मिलेको ड्रेस, पोलिस गरिएका नयाँ जुत्ता, राम्रो झोला आदिले मलाई अनुमान गर्ने आधार प्रदान गरेका थिए ।
घर पुगेपछि लाग्यो । परिवार त सम्पन्न नै रहेछ । मेरो अनुमान सही सावित भयो । चिया आयो । चियासँगै बुवासँग कुराकानी हुुन सुरु भयो । उहाँले भनेका कुरा फारममा भर्दै गएँ । बुवाले उनलाई ४ पटकसम्म बोलाउँदा पनि उनी आइनन् । अनि मैले बोलाएपछि कोठाबाट निस्किन् । उनी अलि डराए जस्तो लाग्यो । उनी विद्यालय पोसाक परिवर्तन गरी आएकी थिइन् । त्यो पोसाकबाट मैले अर्काे अनुमान गरेँ । उनी पक्कै पनि घरमा काम गर्दिनन् । अनि सोधेँ । जानकीले घरमा पढाइ बाहेक कुन कुन काम गछ्र्यौ ? उनी कुनै पनि कामम नगर्ने कुरा गरिन । त्यति बेलै आमा आउनुभयो । उहाँले भन्नुभयो यसलाई हामीले कुनै पनि काम गर्न लगाउँदैनौँ । यसको काम त पढ्ने मात्र हो ।
उनी अध्ययन गर्ने कोठामा गएँ । उनका लागि छुट्टै कोठाको व्यवस्था गरिएको रहेछ । कोठा सफासुग्घर अनि सुसज्जित थियो । कपडाहरु मिलाएर राखिएका थिए । किताब पनि मिलाएर राखिएका । सबै सन्दर्भ सामग्रीको उपलब्धता भएको । पढाइका लागि कुनै कमी अभाव देखिएन । तर नतिजा हेर्दा भने साह्रै कमजोर । नतिजा देखाउँदा बुवाआमा दुबै चकित हुनुभयो । उनले विद्यालयको आफ्नो नतिजामा आफू उत्तीर्ण भएको कुरा गरेकी रहिछिन् तर नतिजा त्यस्तो थिएन । अघि डराउनुको कारण यही रहेछ । छोरीको पढाइका बारेमा जानकारी लिन विद्यालयमा बेलाबेलामा जानकारी लिन अनुरोध गरेँ । यदि फुर्सद नभएमा कक्षासंयोजक सरलाई फोनबाट पनि सोध्न सकिने कुराको जानकारी गराउँदै उहाँको फोन नम्बर दिएँ । फारममा भर्ने कुरा सबै भरेपछि मैले उनलाई धेरै सम्झाएँ । उनको रुचि सोधेँ । उनलाई नाच्न मन पर्दाे रहेछ । तर बुवाआमाले नाच्न नदिनू हुँदो रहेछ । मैले बुवाआमालाई यसका बारेमा कुरा गरेँ । अलिअलि सहमत भएजस्तो लाग्यो । विद्यालयमा हुने साङ्गीतिक कार्यक्रममा सहभागी हुन अनुरोध गरेपछि म त्यहाँबाट फर्किएँ ।
आज त ढिला भयो । अब दुई घरभन्दा अरुघरमा पुग्न सकिदैन झैँ लागेको थियो । यो काम निर्धारित समयमै सक्नु पर्ने थियो । छलफल बैठकको समय नजिक भएकोले छिटो सक्नु पर्ने बाध्यता थियो । बाटैमा एकजना विद्यार्थीसँग भेट भयो । उसको घरमा जानुपर्ने थिएन मलाई । मेरो जिम्मामा ऊ पर्दैन्थ्यो । यसैबेला उसबाट मैले फाइदा लिने विचार गरे । फाइल निकालेर उसले चिनेका साथीको घर सोधेँ । उनले सबैभन्दा नजिकको घर देखाए । म त्यसै घरतिर लागँे । आखिर घर बाटोबाट ५० मिटर मात्र भित्र रहेछ । उनी नभेटिएको भए आज त्यो घर छुट्थ्यो । लिस्टमा अभिभावकको सम्पर्क नम्बरको महल पनि खाली थियो ।
जब म त्यहाँ पुगेँ । ममा बेग्लै अनुभूति भयो । उनको नाम लिएर बोलाएँ । भित्रबाट उनकी आमा निस्कनु भयो । उहाँले छोरीलाई बोलाउनु भयो । बस्नलाई पुराना थैलाबाट बनाइएको चकटी दिनुभयो । म बसेँ । उनकी आमासँग घर परिवारको बारेमा सोधेँ । मलाई मनमा कताकता भिन्न अनुभूति भएको थियो, मन साह्रै खिन्न । परिवारमा जम्मा ७ जना, घरको क्षेत्रफल लगभग २० वर्गफिट जति, उचाइ ६ फिट । बुवाको बारेमा सोधेँ उनका आँखामा आँसु र मेरो मनमा पिडा थपियो । भित्रबाट बिरामी हजुरबुवा खोक्दै हुनुहुन्थ्यो । बुवाको घर आउने समय भएकै थिएन । आमाले भित्र बोलाएर विस्तारै भन्नुभयो । सरसँग काम सकियो भने छिटो पठाइहाल पछि तेरा बा आएर कराउँछन् । उनको झोला बाहिरबाटै प्रष्ट देखिन्थ्यो । र भान्सा पनि । गृहभ्रमणमा जाने शिक्षकले विद्यार्थीलाई खानेकुराका बारेमा पनि सम्झाउनु पर्ने थियो । नसोधूँझै लागेपनि सोधिहाले । खाना अनि नास्ताको बारेमा । घरमा गर्ने कामको बारेमा । विहानै उठेर दुई कठ्ठा गिट्टी कुटेर विद्यालय गइएन भने बेलुकी पेटमा भात पर्छ कि पर्दैन भन्ने थाहा हुँदैन । विद्यालयबाट आएर बिहानकै कार्य नगरे भोलि विहानको छाक टार्न मुस्किल पर्छ । साना भाइ बहिनी छन् । हजुरबुवा बिरामी । आमाले मात्र कति काम गर्न सक्नु । आमाले गरेको कामले मात्र खान पुग्ने कुरा नै भएन ।
म मौन थिएँ । मेरा कानले सुनिरहेका थिए । मन भारी भइरहेको थियो । आँखामा आँसु टिलपिल भइ रहेका थिए । लाग्यो म पनि एक जीर्ण मानव हुँ । मसँगै तिनका समस्याको समाधान पनि थिएन । टुलुटुलु हेर्नुबाहेक अर्काे विकल्प पनि के नै थियो ? नास्ताका बारेमा अनायासै प्रश्न उब्जेछ । सर मेरो विद्यार्थी जीवनभर नास्ताको अनुभव लिएको छैन । विद्यालयमा पानी बाहेक अन्य नास्ता मुखमा परेको पनि छैन । विगत दुई वर्षदेखि भात र दालबाहेक अरु अन्न पेटमा नपरेको कुरा कानले सुनिरहेका थिए । ती नाबालकका कलिला हातमा फलामका हथौडाले हिर्काएका ढुङ्गा छियाछिया भए जस्तै मेरो मन छियाछिया भएको थियो । कमल समाउने हातका ती हथौडाले जीवन रक्षा गरिरहेका थिए । उनमा एउटा अठोट प्रतिज्ञा थियो कुनै पनि हालतमा आफू आफ्ना भाइबहिनीलाई विद्यालयको पढाइ नछुटाउने । यो सङ्कल्प कुनै महामानवको भन्दा कम थिएन । न मैले केही गर्न सक्छु भन्ने आभास दिलाउन सकेँ । न पढाइले जीवन राम्रो हुन्छ भन्ने कुरा सिकाउन सकेँ । केवल मैले एउटा जीवन देखेँ । जुन यो धर्तीमा सुहाउँदै सुहाउँदैन ।
मैले निकालेका फाइलतिर यसो नजर लगाएँ । फारममा नामबाहेक सबै खाली थियो । बुवाको पेसा, पढ्ने कोठा, खाजाको व्यवस्था, सन्दर्भ सामग्रीको उपलब्धता, वार्षिक आम्दानी, अभिभावकलाई सुझाव, विद्यार्थीलाई सुझाव, विद्यालयलाई सुझाव जस्ता फाराममा भर्नु पर्ने कुरा पूर्ण रुपमा अनुपयोगी लागे । म नेपालको भविष्यको खम्बा, राष्ट्र निर्माणका आधारमध्येको एउटा विद्यार्थीको जीवन देखेर आएँ । लाग्यो यहाँ जीवन होइन । नवजीवन चाहिएको छ । यहाँ धन होइन, माटो चाहिएको छ । यहाँ कलम त हुँदै होइन, पेटमा भात चाहिएको छ ।
0 Comments