मेरो बारेमा

वर्ष २०८१ को ममाथि मेरो समीक्षा

२०८१ को शैक्षिक सत्रमा गरेका कार्यको आत्मसमीक्षा 


वर्ष २०८१ को ममाथि मेरो समीक्षा

शिषक भुपेन्द्र बिसी

श्री अमरज्योति माध्यमिक विद्यालय वीरेन्द्रनगर १२ सुर्खेत

म शिक्षक । शिक्षणको १२ वर्ष पूरा । नेपालको शिक्षा प्रणाली कस्तो छ, त्यो मेरो समीक्षाको विषय होइन । यहाँ मैले मैले एक वर्षमा शिक्षणका क्षेत्रमा गरेका कार्यलाई प्रस्तुत गरेको छु । यसलाई म आफै समीक्षा मान्न तयार छैन । तपाईँका सकारात्मक र कठोर दुवै प्रकृतिका प्रतिक्रियाहरु स्वीकार गर्ने छु । २०८१ को कार्यलाई २०८१ शब्दमा नै सीमित गरेको छु ।

शैक्षिक वर्ष २०८१ मा  जम्मा २१८ दिन विद्यालय सञ्चालन भएछ भने मेरो उपस्थिति २११ दिन रहेछ । 

कुनै पनि मानिस आफ्नो आलोचना सुन्न चाहँदैन । आलोचना सुन्न नचाहने मानिस आलोचना नगर्ने भन्ने पनि हुँदैन । मान्छे आलोचनाको स्वीकरणप्रति तीव्र विरोधी हुन्छ भने त्यसको प्रत्यारोपणमा भने तीव्र रोचक बन्छ । अर्थात आलोचक बन्नु मान्छेको धर्म हो । आलोचनाबाट बच्न चाहनु आदर्श हो, आलोचना स्वीकार गर्न नसक्नु आफूलाई चिन्ने प्रयास नगर्नु हो । यी मान्छेका साझा स्वभाव हुन् । आलोचना अस्वीकार गर्ने विषयमा आआफ्ना पृथक प्रवृत्ति देखिन्छन् । आलोचना गर्नेले आफ्नो आलोचना सहनुपर्ने हो तर त्यस्तो हुँदैन । महात्मामा गान्धीले आफ्नो पुस्तक सत्यको प्रयोगमा आत्मसमीक्षा विना आत्म सुधार असम्भव छ भनेका छन् । त्यसै गरी स्वामी विवेकानन्दले आफ्नो अन्तरआत्मालाई खोज्नु नै जीवनको सार हो, आत्म समीक्षा गर्ने व्यक्ति मात्र वास्तविक ज्ञानी हुन सक्छ भनेका छन् । यी भनाइलाई मनन गर्दा मान्छेको जीवनमा आत्मसमीक्षा आवश्यक छ ः आफैले आफैलाई सुधार्न, आफ्नो क्षमता पहिचान गर्न ।

मैले कक्षामा एक पटक भए पनि आफ्नो शिक्षण शैली, प्रवृत्तिका बारेमा विद्यार्थीका धारणा लिने गरेको छु । उनीहरुको नाम उल्लेख नगरी ससाना चिटहरु लिएर अध्ययन गर्ने गरेको छु । यसले मलाई बहुत ऊर्जा दिएको छ । कतिपय राम्रा प्रशंसाका कुराले आफ्नो पेसाप्रति गर्व गर्न लायक हुने रहेछ भने सुझावले आफ्ना अदृश्य कुरालाई छर्लङ बनाइ दिने रहेछ । विद्यार्थीहरुको अपेक्षाभिन्न भिन्न हुने रहेछन् । कतिपयले प्रशंसाका शब्द खर्चिए, कसैले सुझाव, कसैले अपेक्षा त कसैले सचेतता । जस बारेमा म अनविज्ञ थिएँ । त्यसका बारेमा विद्यार्थी सुझावले मेरो मन मस्तिष्का आभा ल्याइदियो । झङ्कार पैदा गराइदियो । उमङ्गित र आनन्दित बनाइदियो । मलाई सचेत बनाइदियो ।

कक्षाकोठा मेरो दिनचर्या हो । मेरो कार्य क्षेत्र हो । जीवनको आधार, पवित्रता, सम्बन्ध त्यसैसँग गाँसिएको छ । यस वर्ष मैले कक्षा ९ देखि १२ सम्म आठ ओटा समूहमा पढाउने अवसर प्राप्त भएको थियो । कक्षाकोठामा समूह कार्य, जोडी कार्य, परियोजना कार्य, सहकार्य र सहयोगको कार्यलाई प्राथमिकतामा राखेको छु ।  विद्यार्थी सङ्ख्या दृष्टिले सबै कक्षा कोठा ठुला कक्षाकोठामा पर्दछन् । यस वर्ष मैले अध्यापन गराउने कक्षामा सबै विद्यार्थीलाई अगाडि गएर बोल्ले अवसर प्रदान गरेको छु । अध्यापन गराएका सबै विद्यार्थीहरुले कक्षामा १ देखि ४ पटक सम्म पढेको वा दिइएको विषयमा आधारित भएर आफ्नो प्रस्तुति राख्ने अवसर पाएका छन् । हरेक दिन ४, ५ जना विद्यार्थीहरुलाई २,३ मिनेटको समयावधि दिएर कतिपय पाठका त कतिपय खोज गर्ने खालका विषयवस्तुहरु प्रदान गरेर बोल्ने मौका दिइएको थियो । मैले अघिल्लो आर्थिक वर्षको आधा बाँकी रहेका छ जना शिक्षकहरुको मेन्टरिङ कार्यक्रमलाई पूरा गरेँ भने २०८१, ८२ को लागि नयाँ चार जना नवप्रवेशी शिक्षकहरुलाई पेसागत सहायता उपलब्ध गराउने अवसर पनि प्राप्त गरेको छु । यसले पनि मेरो सिकाइको दायरा फराकिलो बनाउने बलियो आधार प्रदान गरेको छ ।

नेपाली विषयलाई प्रविधिको प्रयोगभन्दा अलि पर राखेर हेर्ने दृष्टिकोण आम मानिसमा देखिन्छ । म भने नेपाली भाषा शिक्षणमा प्रविधिको प्रयोगलाई जोड गर्नुपर्छ भन्ने मान्यता राख्दछु । मैले कक्षा ११ का विद्यार्थीहरुका लागि अनलाइन हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेँ । कक्षा ९ का लागि पावरपोइनटबाट बनाइएको हाजिरीजवाफ प्रस्तुत गरेँ । आफूले बनाएका पावरपोइन्ट र शिक्षा तथा मानवस्रोत विकास केन्द्रले तयार पारेका श्रव्यदृश्य सामग्रीको उपयोग गरेँ । प्रविधिको प्रयोगलाई सहज बनाउन लागि विद्यालयमा छुट्टै आइसिटी कक्ष बनाउन पहल गरेँ र अहिले त्यो कक्ष निर्माण भएको छ । शिक्षणमा आइसिटीको प्रयोग गर्छु भन्ने शिक्षकहरुका लागि त्यो उपयोगी बनेको छ । सोचेअनुरुप कक्षामा सूचना तथा सञ्चार प्रविधिको उपयोग गर्न सकिएको अनुभूति अझैँ पनि हुन सकेको छैन ।

मैले यस वर्ष एउटा नौलो प्रयोग गरेको छु । कसैका लागि पुरानो पनि हुन सक्छ । मैले मेरा लागि मात्र नौलो भनेको छु है । कक्षा ९ मा र ११ मा मात्र । सबैभन्दा पहिला सिकाइ स्तर राम्रा भएका ८, ८ जना अगुवा विद्यार्थीहरु पहिचान गरेँ यसका लागि मैले त्रैमासिक परीक्षाको नतिजा र कक्षाका गतिविधिलाई आधार बनाएँ । छानिएका विद्यार्थीलाई आफूले काम लगाउन सक्ने विद्यार्थीहरुलाई छान्न लगाएँ । सबैले छनोट गरे । म शिक्षकले पनि सिकाइ स्तर कमजोर भएका र विद्यार्थीले छान्न नचाहने विद्यार्थीलाई मैलै छनोट गरेँ । यी समूहलाई नामकरण गरियो । अगुवा विद्यार्थीलाई एक खाली समयमा भोलि आफ्ना साथीहरुलाई पढाउने पाठको बारेमा १५, २० मिनेट जति सिकाएँ । उनीहरुलाई सामग्री उपलब्ध गराएँ । उनीहरुले त्यो पाठ शैक्षिक सामग्रीको प्रयोगसहित विभिन्न स्थानमा बसेर आफ्ना साथीहरुलाई सिकाए । यसलाई स्याटलाइट सिकाइ समूह भनिने रहेछ । मैले त्यो समूहलाई अझ बढी काममा लगाएँ । आफ्ना समूहमा साथीहरुको अक्षर सुधार, पठनप्रवाह कम भएका विद्यार्थीको पठन गति विकास, अनुशासन, कक्षा तया गृहकार्य परीक्षण आदि । कक्षामा मेरो विषय पढ्दा उनीहरु समूहअनुसार बस्थे । उनीहरुले पढाएको पाठको परीक्षा पनि लिए । उत्तरपुस्तिका पनि परीक्षण गरेर समूहका साथीहरुलाई पनि दिए । हरेक समूहले सह तथा अतिरिक्त कार्यकलापहरु सञ्चालन गरे समूहगत प्रतिस्पर्धाका रुपमा । उनीहरुले हिज्जे प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, संवाद लेखन प्रतियोगिता, नेपाली टङ्कण प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता सञ्चालन गरे । प्राप्त नजिताका आधारमा हरेक समूहले प्राप्त गरेका स्वर्ण, रजत, काँस्य पदका आधारमा समूहलाई पुरस्कृत पनि गरियो । कक्षा ११ को शिक्षा विषयका विद्यार्थीहरुको शैक्षिक सामग्री निर्माण कार्यशालाका सम्बन्धमा विद्यार्थीको तयारी पूरा भइसकेकाले २०८२ मा पूरा हुने देखिन्छ ।

एक दिन म विद्यालयमा अनुपस्थित थिएँ । भोलि पल्ट विद्यालय गएँ । हेड सरले भन्नुभयो, “म हिजो हजुरको कक्षामा गएको थिएँ । विद्यार्थीहरुले आफ्ना साथीहरुलाई राम्रोसँग सहजीकरण गरिरहेका थिए ।” यस भनाइले पनि त्यो कार्य ठिकै भयो भन्ने लागेर शब्दमा उतार्ने प्रयास गरेको हुँ । 

शिक्षकको पेसागत विकासका हिसाबले केही कार्य गरे जस्तो लाग्छ । यस वर्ष मैले आफ्नो दर्शनाचार्य अध्ययनलाई निरन्तरता दिइरहेँ । एउटा अुनसन्धानमूलक लेख प्रकाशन पनि गरेँ । दुई ओटा लेखहरु प्रकाशन उन्मुख छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको शिक्षक स्मारिका र बुद्धिजीवी परिषद्को स्मारिकामा गरी २ ओटा लेख प्रकाशित भएका रहेछन् । साहित्य सिर्जनामा कमजोर मेरा हातहरुले केही केरकारको वातावरण पनि प्राप्त गरेका रहेछन् । यस वर्ष नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको शिक्षक स्मारिका प्रकाशन समितिमा बसेर काम गर्न पाउँदा पनि एउटा नयाँ अनुभूति थपिएको छ । विद्यार्थीका लेखन तथा साहित्यलाई रुचि राख्न प्रेरित गर्दै उनीहरुको कविता छपाइका लागि पनि पहल गरेँ ।

मलाई मानव संसाधान विकास केन्द्र कर्णाली प्रदेशले रोस्टर प्रशिक्षकका रुपमा काम गर्ने अवसर दिएको छ । एकीकृत पाठ्यक्रम, नेपाली विषय र डिजिटल लिटरेसीको  रोस्टर प्रशिक्षक भएर सिक्ने सिकाउने मौका प्राप्त भयो । यसका लागि उक्त संस्थाप्रति आभार प्रकट गर्न चाहन्छु । मैले नेपाली विषयका दुई ओटा समूह र एकीकृत तालिमका छ समूह र डिजिटल लिटरेसीका चार समूहमा सहजीकरण गर्ने अवसर प्राप्त गरेको थिएँ । त्यसबाहेक अन्य सङ्घ, संस्थाबाट सञ्चालन हुने चार ओटा जति समूहमा सहजीकरणको अभ्यास प्राप्त गरेको थिएँ । वार्षिक शैक्षणिक योजना निर्माणका लागि नेपाल राष्ट्रिय चन्द्रगङ्गा माध्यमिक विद्यालयमा सहभागी हुँदा अनुभूतिहरुले पनि राम्रै पाठ सिकाएका छन् । 

यसै बिचमा एओएस विद्यालयको अवलोकन गरियो । आफ्नो अध्ययनका कार्य पूरा गर्नै शिलशिलामा सुर्खेतका १० ओटा जति विद्यालयमा पुगिएको रहेछ । कक्षा ११ शिक्षाका विद्यार्थीहरुसँग सहिदपार्कदेखि गोठीकाँडासम्मको पैदलयात्रा सम्पन्न गरियो । हलमा विद्यार्थीकै सक्रियतामा वक्तृत्वकला कार्यक्रम सञ्चालन गरी प्रतिवेदन लेखनको कार्यलाई व्यावहारिक बनाउने प्रयास गरियो । खाली भएका कक्षाका बालबालिकाहरुलाई ध्यानकर्षण गराउनेसम्बन्धी खेलहरुमा सहभागी बनाउने कार्य पनि गरियो । 

म विद्यालयको शिक्षक । त्यसको अतिरिक्त विद्यालयमा एउटा जिम्मेवारी पनि छ, सहायक प्रधानाध्यापक । यो यस्तो पद रहेछ, परिआएको बखत सहयोगी कर्मचारीदेखि प्रधानाध्यापकको समेत काम गर्ने । यो पदको कानुनी धरातल त छैन तर विद्यालयमा अत्यावश्यक । अत्यावश्यक हुनुको कारण यसभन्दा अघिल्लो दोस्रो वाक्य नै होला । विद्यार्थीका द्वन्द्व समाधान, अभिभावक सम्पर्क, समयतालिका निर्माण, परीक्षा सञ्चालन तथा व्यवस्थापन, नतिजा प्रकाशन, जनशक्ति व्यवस्थापन, इमिस व्यवस्थापन, अतिरिक्त एवम् अन्य कार्यकलाप सञ्चालनलगायत प्रधानाध्यापकले तोेकेका कार्यहरु गर्नुपर्ने । यस्ता काम दैनिक जस्तै लाग्ने गरेका छन् । १०, ४ बाहेकको अतिरिक्त समयमा काम गर्नु, ल्यापटपसँग घोत्लिनु मेरो दिनचर्या नै बन्यो ।

मैले राम्रै गरेँ म भन्न सक्दिनँ । मात्र मैले यत्ति गरेँ । यसभन्दा धेरै गर्न सकिन्थ्यो । यहाँ गरेका भन्दा गर्न नसकेका कार्यहरुको फेहरिस्त लामो देखिन्छ । सोच अधिक राखिन्छ । सोचलाई कार्यान्वयन गर्न समय, स्रोत, साधना, सहयोग, योजना चाहिने रहेछ । सबै सोच पूरा गर्न पनि नसकिने रहेछ । वर्षमा गर्न सकिने कामको विवरण तयार गर्ने र वर्षको अन्तमा आफ्नो समीक्षा आफै गर्ने हो भने पनि आफ्नो पेसागत विकासमा इट्टा थपिने रहेछ जस्तो लाग्छ ।

यस वर्ष सोचेअनुरुप कक्षामा सूचना तथा सञ्चार प्रविधिको अधिक प्रयोग गर्न सकिएन । सामग्रीको प्रयोग नुहने सधैँको जस्तो रोग यस वर्ष पनि बल्झिरह्यो । यस घाउमा केही मलम सूचना तथा सञ्चार पद्धतिको प्रयोगले गरे तापनि सन्तुष्ट हुन भने दिएको छैन । सबै कक्षामा आन्तरिक मूल्याङ्कनका सबै आधारहरु प्रयोग गर्न पनि सकिएन । विद्यालयमा सबै कक्षामा हस्तलेखन सुधारका कार्य सञ्चालन गर्ने, गजल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, अनलाइन पत्रिका प्रकाशन गर्ने कार्य गर्न सकिएन । यस वर्ष कुनै पनि तालिममा सहभागी हुने अवसर प्राप्त भएन । हरेक शिक्षकका लागि आन्तरिक मूल्याङ्कन डायरी बनाइ उपलब्ध गराउन विगतको योजना फलदायी बनाउन सकिएन । आफ्नो कक्षा अवलोकन गराई पृष्ठपोषण प्राप्त गर्ने कार्यलाई कार्यान्वयन गर्न सकिएन । विद्यालयको नतिजालाई वेभसाइटमार्फत प्रकाशन गर्ने कार्यले सार्थकता पाउन सकेन । बाह्य मूल्याङ्कनमा विद्यार्थीको नतिजा कस्तो आउला, त्यो जिज्ञासाको विषय हो नै । तर कतिपय सन्दर्भमा जीवनका लागि उपयोगी कुरा कक्षामा आवश्यक हुँदा रहेछन् भन्ने लाग्छ । सकिएनहरुको ताँतीहरुमा सकियो, गरियो जस्ता कुराहरु छिद्रबाट घुसाइदिँदा पनि सकिएनहरुको क्रम भङ्ग गर्न सकिन्छ । 

केही मिठा र केही अनुभव गर्न नसकिएका अनुभवहरुसहित २०८१ लाई धेरै धेरै धन्यवाद । गरिएका कार्यहरुमा प्रत्यक्ष र परोक्ष रुपमा सहयोग सद्भाव देखाउनुहुने सबैप्रति हार्दिक नमन गर्दछु । नतिजासहतिको उच्च अपेक्षा र आकाङ्क्षासहित २०८२ साललाई हार्दिक स्वागत गर्दछु । केही नयाँ र फरक नतिजाका लागि पृथक योजना, प्रक्रिया र श्रमको आवश्यकता विगतका वर्षझैँ २०८१ पनि सिकाएको छ । २०८२ ले हरेक कार्यमा नवीनता र खुसी दिन सकोस्, विद्यार्थीकै परम हितमा कार्य समर्पित गर्न सकियोस् । नव वर्ष २०८२ हार्दिक शुभकामना ।


Post a Comment

0 Comments