हत्तेरी ! सपना पो रहेछ
बिहान ९:३० बजे घर अगाडि बसले हर्न बजायो । म हातमा झोला बोकेर निस्किएँ अनि बस चढे । १० बज्न ५ मिनेट बाँकी थियो, विद्यालय पुगें । प्रवेशद्वार राखिएको यन्त्रमा मुहार देखाएपछि मेरो उपस्थिति अभिलेख भयो । आफ्नो क्याविनमा गएँ । झोला बिसाएँ अनि शिक्षण सहायक कर्मचारीलाई आजको कक्षाका लागि अघिल्लो दिन दिइएको पाठयोजनाको तयारी बारे कुरा गरेँ । शिक्षण सेवामा १० वर्ष पूरा गरेका शिक्षकहरूको ज्ञान र अनुभवको उचित उपयोगका लागि एक उहाँहरूका लागि शिक्षण सहायक कर्मचारी राख्ने व्यवस्था थियो । मैले उक्त सहयोगी पाएको मात्र १ वर्ष भएको थियो ।बिहानी प्रार्थना सुरु भयो । राष्ट्रिय गान, विद्यालय गान र सामान्य पिटीपछि विज्ञान विषय शिक्षकले भर्खर भएको नयाँ आविष्कारका बारेमा जानकारी गराउनु भयो । विद्यार्थीले निर्धारित कार्य प्रस्तुत गरे । कक्षामा पुग्न ५ मिनेटको समय हुन्थ्यो । विद्यालयको प्रतिक्षालयमा दुई जना अभिभावक मेरो प्रतीक्षा रहेको सूचना प्राप्त भयो । मैले उहाँको छोराछोरीको सामान्य भलकुसारी पश्चात् मेरो कक्षमा लिई फाइल अध्ययन गर्न लगाएँ । यति बेलासम्म मेरो कक्षाको सम्पूर्ण बन्दोबस्त शिक्षण सहायक कर्मचारीले गरिसक्नु भएको थियो । म कक्षामा पुगें । आधुनिक कक्षाकोठा, पर्याप्त स्थान, स्वच्छ र सुन्दर कक्षाकोठा थिए । कक्षाकोठामै पिउने पानी, नजिकै शौचालय, खाजा कक्ष थिए ।समूह कार्यका लागि ७ टेबलमा विद्यार्थीहरू बस्नु भएको थियो । कक्षा सहजीकरण गरेँ । कक्षा सकियो । अब अर्को कक्षाका लागि तयारीमा जुटेँ । मैले दैनिक ५ पिरियड पढाउनु पर्थ्यो ।एक जना शिक्षकले कक्षा १का बालबालिकालाई विद्यालयको बगैँचामा घुमाइरहनु भएको थियो । हरेक विद्यार्थी जोडी समूहमा कुरा गर्दै गएको देखिन्थ्यो । प्रधानाध्यापक कक्षा अवलोकनमा हुनुहुन्थ्यो । एउटा कक्षामा अनुसन्धानका लागि विश्वविद्यालयका विद्यार्थीहरू तथ्यांक सङ्कलन गर्दै थिए । बिदामा बस्नु भएको रमेश सरका विद्यार्थीलाई उहाँको सहायक ले इ-पुस्तकालयमा लिनुभएको थियो ।प्रथम श्रेणीको शिक्षक नगर शिक्षा शाखा प्रमुख हुने व्यवस्था थियो । हरेक विषयका सञ्जाल थिए । मेरो विषयको सञ्जालमा विद्यार्थीको बोलाइ सिप विकासका तरिकाहरूका बारेमा आज भर्चुअल प्रस्तुति थियो । मेरो प्रस्तुतिमा शिक्षाशास्त्र अध्यापन गराउने गुरुहरूले टिप्पणी राख्नु भएको थियो । उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुखज्यूले नयाँ अनुसन्धानको शीर्षक पनि व्यक्त गर्नु भयो । अनि उक्त अनुसन्धानका लागि ५ जना शिक्षक छनोट भएको र अर्को महिना फिनल्यान्डमा अध्ययनका लागि जानुपर्ने कुरा राख्नुभयो ।उक्त अध्ययनका लागि म पर्ने नपर्ने विषयमा तर्कना खेलाउँदै विद्यालयको बस चढेँ । घर नजिकै पुगेपछि गाडीले ब्रेक मार्यो । म झसङ्ग भएँ । हत्तेरी ! सपना पो रहेछ ।
भूपेन्द्र बी.सी. 20७८।०४।०८ शुक्रबार
0 Comments